२६औँ महाधिवेशनबाट गठन भएको नीतिगत परामर्श तथा सुझाव समितिको बैठक सम्पन्न

२६औँ महाधिवेशनबाट गठन भएको नीतिगत परामर्श तथा सुझाव समितिको बैठक सम्पन्न



२०७८ बैशाख २४

बैशाख २४, काठमाडाैं । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट गठन भएको नीतिगत परामर्श तथा सुझाव समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । सो समितिमा पत्रकार महासंघका पूर्वअध्यक्ष तथा निवर्तमान अध्यक्ष रहने व्यवस्था छ ।

पत्रकार महासंघको संयोजनमा बसेको बैठकले कोभिड संकटको समयमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको सन्दर्भमा विशेष ध्यान दिन सबै सरोकारवाला निकायसँग आग्रह गरेको छ । त्यसैगरी संकटमा परेका सञ्चार प्रतिष्ठान तथा सञ्चार संस्थालाई सहुलियत दिने सन्दर्भमा पनि बैठकले राज्यको ध्यानाकर्षण गराएको छ ।

सो बैठकले पत्रकारलाई अग्रपंक्तिमा खटिने वर्ग ९फ्रन्टलाइनर० घोषणागरी उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न आग्रह गरेको छ । यो बिषम परिस्थितिमा सञ्चारमाध्यम र सरकारलाई थप संवेदनशील भएर आफ्नो पेशागत भूमिका निर्वाह गर्न बैठकले जोड दिएको छ ।

त्यसैगरी बैठकले समितिको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष गोबिन्द आचार्यलाई जिम्मेवारी दिएको छ भने महासंघको तर्फबाट समितिको सदस्य सचिवको भूमिका निर्वाह गर्नका लागि पूर्वपदाधिकारीका तर्फबाट निवर्तमान सचिव प्रकाश थापालाई जिम्मेवारी प्रदान गरिएको महासचिव रोसन पुरीले जानकारी दिनुभयो ।

महासंघका पूर्वसभापति तारानाथ दाहालको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, शिव गाउँले, महेन्द्र विष्ट र निवर्तमान अध्यक्ष गोविन्द आचार्यको सहभागिता थियो । बैठकको सञ्चालन अध्यक्ष विपुल पाख्रेलले गर्नुभएको थियो ।