मितिः २०८३।०६।१६
सरकारले लोककल्याणकारी विज्ञापन छापेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साबिककै दररेट भुक्तान गर्ने भनी गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
विज्ञापन वोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रुपमा स्वागतयोग्य भए पनि माग पूर्ण रुपमा सम्बोधन नगरिएकोमा महासंघ आपत्ति प्रकट गर्दछ ।
अतः कुनै वैज्ञानिक आधार र कारण बिना सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी छापामाध्यमलाई धरासायी गर्ने मनसाय प्रेरित स्वेच्छाचारी निर्णयमार्फत निर्माण गरिएको छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ तत्काल खारेज गरी सरोकारवाला पक्षको सहमतिमा मात्र नयाँ व्यवस्था लागू गर्न महासंघ पुनः जोडदार माग गर्दछ । साथै प्रेस काउन्सिल नेपालले राष्ट्रिय, प्रदेश र स्थानीय तहका पत्रपत्रिकाले छापेको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानीमा पाँच सय रुपैयाँको मात्र अन्तर कायम गर्न तथा रकम दोब्बर बनाउन पटकपटक गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न महासंघ माग गर्दछ ।
महासंघ सूचना तथा सञ्चार मन्त्रालयले वार्ता, सवाद र सहमतिका आधारमा माग सम्बोधन गर्नेमा आशावादी छ । अन्यथा महासंघको आन्दोलन थप सशक्त हुने जानकारी गराइन्छ ।
………………
रामप्रसाद दाहाल
महासचिव