पत्रकार सन्तोष गौतमलाई म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेका भगवान पौडेलले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०७।२९

पत्रकार सन्तोष गौतमलाई म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेका भगवान पौडेलले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही कात्तिक २८ गते पौडेलले ‘दिन गन्नुहोला’ भन्ने धम्कीपूर्ण अभिव्यक्ति फेसबुक पेजबाट सार्वजनिक गर्दै पत्रकारिताको व्यावसायिक निष्ठामाथि प्रश्न उठाएर पत्रकार गौतमलाई विभिन्न लाञ्छनासमेत लगाएको महासंघको म्याग्दी शाखाले जनाएको छ ।

यसअघि पनि जिल्लाका पत्रकारहरूमाथि विभिन्न माध्यमबाट पौडेलले निरन्तर आक्षेप लगाउने, दबाब सिर्जना गर्ने तथा व्यक्तिगत रूपमा आक्रमण गर्ने गतिविधि गर्दै आएको शाखाको भनाइ छ ।

महासंघ पत्रकार धम्क्याउने कार्यको निन्दा र भर्त्सना गर्दछ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव