कार्तिक ३, काठमाडाैं । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित रकम नेपाल पत्रकार महासंघको तर्फबाट स्व. उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।
स्व. उपाध्यायकी धर्मपत्नीको मिर्गौला रोगको उपचार र बुबाको हेरचाहमा सहयोग पुर्याउने उद्देश्यले नेजाको पहलमा संकलन भएको १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा महासंघमा प्राप्त भएको छ ।
सो रकममध्ये यही कात्तिक २ गते सोमबार महासंघका महासचिव रामप्रसाद दाहालले स्व. उपाध्यायकी धर्मपत्नीलाई भेटेर १२ लाख ५ हजार ८७५ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तराष्ट्रिय समाजका राजन त्रिपाठीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।
बाँकी रहेको ४ लाख १ हजार ९५७ रुपैयाँ दशैंलगत्तै स्व. उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि उहाँकै खातामा जम्मा गरिने जानकारी गराइन्छ ।
सहयोग जुटाउनुहुने नेजा परिवार, अमेरिकामा रहनुभएका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज र तनहुँ समाज पोखराप्रति महासंघ हार्दिक आभार व्यक्त गर्दछ ।