प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई सञ्चार तथा सूचना  प्रविधि राज्यमन्त्री बाँस्कोटाकाे आग्रह

 प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई सञ्चार तथा सूचना  प्रविधि राज्यमन्त्री बाँस्कोटाकाे आग्रह



२०७४ चैत्र ०७

मितिः२०७४/१२/७

नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना  प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पूर्ण कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । 
महासंघमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चार राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत लोकतन्त्रको पहरेदार रहेकाले प्रेस भन्दामाथि सरकार हुन नसक्ने बताउनुभयो । उहाँले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारीश्रमिकलाई समयानुकुल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँचका लागि ध्यानाकर्षण गराउनु भयो ।  
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका  नियम कानूनलाई परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
महासंघका उपाध्यक्ष विपुल पोख्र्रेलले समाचार लेखेकै कारण पत्रकारले अझैपनि धम्की तथा आक्रमण जस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गर्नुभयो 
कार्यक्रममा नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटीले सरकारका  गतिविधि जनताको पक्षमा हुनुपर्ने भन्दै त्यसका लागि सिंगो पत्रकारिता जगतको सहयोग हुने बताउनुभयो । 
प्रेस चौतारिका वरिष्ठ उपाध्यक्ष माधव नेपालले मुलुकमा शक्तिशाली सरकार रहेकाले पत्रकारका समस्या समाधान गर्नका लागि  उपयुक्त अवसर रहेको बताउनु भयो । 
प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले सबैखाले सञ्चार माध्यमको हितमा नीति निर्माण गर्न राज्मन्त्रीलाई आग्रह गर्नु भएको थियो ।