मितिः २०८३।०५।२९
वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल पुर्याइएका गौतमको उपचारकै क्रममा २०८३ भाद्र २७ गते शनिबार निधन भएको हो ।
सन् १९६० फेब्रुअरी २१ मा इलाममा जन्मिएका गौतमले तीन दशकभन्दा बढी पत्रकारितामा योगदान दिनु भएको थियो । कान्तिपुर दैनिकलगायत विभिन्न पत्रपत्रिकामा काम गरेका गौतम गोरखापत्र दैनिकको पूर्वप्रधानसम्पादक हुनुहुन्छ । उहाँ पत्रकारितासँगै लेखनमा समेत सक्रिय हुनुहुन्थ्यो ।
गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, अनुभवी र समर्पित पत्रकार गुमाएको छ ।
महासंघ स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव