मिति : २०८३।०६।०३
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामीको थामी संस्कारअनुसार शनिबार कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ ।
रसुवा हुँदै केरुङ जाने क्रममा रसुवास्थित भोटेकोशी नदीमा २०८३ भाद्र १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन थामीको तीन साता बितिसक्दासमेत सकारात्मक खबर नआएपछि पारिवारिक सहमतिमा थामी समाजको अगुवाइमा अन्तिम संस्कार गरिएको हो ।
दाहसंस्कारका क्रममा पशुपति आर्यघाटमा महासंघ अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलगायतले थामीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । एक मिनेट मौन धारणसमेत गरिएको थियो ।
स्वर्गीय थामीका आमा, बुबा, श्रीमती र एक छोरी हुनुहुन्छ । थामीका श्रीमती कालिका खड्का पत्रकार हुनुहुन्छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थामी सगरमाथा टेलिभिजन, एबीसी टेलिभिजन हुँदै पछिल्लो समय नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्थ्यो । खोज पत्रकारितामा राम्रो पहिचान बनाएका थामीले २०७४।०५।०६ देखि २०७७।१२।२५ सम्म नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्यको रुपमा योगदान दिनुभएको थियो ।
महासंघ स्वर्गीय थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पति वियोगमा रहनुभएकी कालिकासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
यसअघि मानसरोवर भ्रमणका क्रममा २०८३ भाद्र १० गतेदेखि पत्नीसहित सम्पर्कविहीन भएका महासंघ भक्तपुरका सदस्य पत्रकार शेखर ढुंगानाको २०८३ भाद्र १८ गते हिन्दु परम्पराअनुसार कुशबाट दाहसंस्कार गरिएको शाखाले जानकारी गराएको छ ।
सम्पर्कविहीन भएको आठौं दिनसम्म सकारात्मक खबर नआएपछि अन्तिम संस्कार गरिएको थियो ।
महासंघ स्वर्गीय ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
ढुंगानाले देशान्तर साप्ताहिकलगायतका पत्रपत्रिकामा लामो समय काम गर्नु भएको थियो ।
थामी र ढुंगानाको निधनले नेपाली पत्रकारिता क्षेत्रले दुई योग्य, अनुभवी, निर्भीक र कुशल पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय र इमान्दार सदस्य गुमाएको छ ।
उक्त विनाशकारी बाढीबाट सम्पर्कविहीन रहेका नेपाल पत्रकार नुवाकोट शाखाका पूर्वकार्यसमिति सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपालीको डीएनए टेस्टको रिर्पोट आएपछिमात्र परिवारले थप निर्णय लिने उहाँको परिवारबाट जानकारी प्राप्त भएको छ ।
रामप्रसाद दाहाल
महासचिव