पत्रकार पक्राउ तथा अाक्रमणकाे निन्दा

मिति : २०७४।११।०८
सुनसरीबाट प्रकाशित प्रवोध साप्ताहिकका सम्पादक गमबहादुर लम्देल र सम्वाददाता जमुना श्रेष्ठ तथा मर्निङ टाइम्स दैनिकका सम्वाददाता मीना तुम्सुवालाई प्रहरीले बिनाकारण प्रक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सुनसरी शाखाका अनुसार समाचार संकलनमा रहेका पत्रकारत्रयलाई आज धरानबाट प्रहरीले बिनाकारण पक्राउ गरिएको हो ।

पेशागत दायित्व निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिकाे हस्तक्षेप हो । महासंघ प्रहरीबाट भएको यो कार्यको कडा शब्दमा निन्दा गर्दै पक्राउ परेका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गरी संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

यसैबीच समाचार संकलनका क्रममा पत्रकार घनश्याम पाण्डे कास्कीको विजयपुर खोलाको पुल नजिक भएको बम विस्फोटमा परी घाइते हुनु भएको खवरप्रति महासंघ दुःख व्यक्त गर्दछ र घाइते पत्रकार पाण्डेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्