पत्रकारलाई भौतिक कारबाहीकाे धम्की: महासंघद्वारा भर्त्सना

मिति : २०७४।११।१०

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भूमिगत समुहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेर गएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समुह ‘सन्तोष मिश्रा बारुद’ को नामबाट आज पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो ।
समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ । महासंघ पत्रकारलाई दिइएको यो धम्कीको कडा शब्दमा भत्र्सना गर्दछ । र, धम्की दिने समुहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भीक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ ।


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्