सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया आउने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण

मिति : २०७५।०२।०६ 

सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया आउने प्रवृत्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाले कान्तिपुर दैनिकमा वैशाख ३१ गते ‘अदालतका कर्मचारी शंकाको घेरामा’ शीर्षकमा प्रकाशित समाचारलाई फेसबुकमार्फत शेयर गरेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालीन प्रशासकीय अधिकृत रोहित भट्टराईले अश्लील शब्द प्रयोग गरी पत्रकार झालाई फेसबुकमार्फत गालीगलौज गरेका थिए । पत्रकारले लेखेको समाचारप्रति चित्त नबुझेमा त्यसको निरुपण गर्ने उपाय हुँदाहुँदै सार्वजनिक रूपमा गालीगलौज गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरोकारवाला सबैका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेतलाई महासंघ आग्रह गर्दछ । दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएका महासंघका केन्द्रीय सदस्य झाले आफूमाथि भएको गालीगलौजका विरुद्ध न्यायिक निरुपणका लागि प्रक्रिया अगाडि बढाउनु भएको छ । उहाँको यो कदममा महासंघ साथसाथै रहेको व्यहोरा जानकारी गराउँदछौं । झाले न्यायिक निरुपणका लागि प्रक्रिया अगाडि बढाइसकेपछि पनि विभिन्न नम्बरबाट फोन गरी धम्क्याउने, मानसिक तनाव दिने कार्य भैरहेको छ । महासंघ यो कार्यको भत्र्सना गर्दछ । र, टेलिफोनबाट धम्की दिनेहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यावहारिकरूपमा प्रतिवद्ध बन्न, नागरिकको जान्न पाउने अधिकारको सम्मान गर्न महासंघ सबैमा अपिल गर्दछ ।

 

प्रकाश थापा

कार्यबाहक महासचिव

 डाउनलोड गर्नुहोस्