पत्रकारहरुमाथि धम्की तथा प्रेसलाई निरुत्साहित गर्ने घटना बढेकोमा ध्यानाकर्षण

मिति : २०७५/२/९

केही दिनयता पत्रकारहरुमाथि धम्की तथा प्रेसलाई निरुत्साहित गर्ने घटना बढेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष एवम् नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक दामोदरप्रसाद दवाडीलाई सोमबार नयाँ विकल्प साप्ताहिकमा ‘अर्थमन्त्रीको गृह नगरमै अनियमितता छचल्कियो’ शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर झापा गौरादह नगरपालिका वार्ड नं १ का  वडा अध्यक्ष नगेन्द्र भण्डारी र स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खड्काले मार्ने धम्की दिएका छन् । पूर्वसभासद् दिपक कार्की र वडा अध्यक्ष भण्डारीले समाचारको स्रोत खोल्न दबाब दिँदै समाचारको स्रोत र संवाददाताको पहिचान नखोले राम्रो नहुने भन्दै पटक–पटक धम्क्याएका छन् । 
त्यसैगरी नेपाल पत्रकार महासंघ हुम्ला शाखा उपाध्यक्ष तथा रेडियो कर्णाली आवाज हुम्लाका समाचार संयोजक मिमसिंह नेपालीलाई ९८४८३०९०४६ नम्बरबाट फोन गरी  मार्ने धम्की दिइएको छ । हुम्ला जिल्ला साविकको मैला र कालिका गाविसमा कार्यरत रहँदा सचिव गोपालचन्द्र लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको विषयमा किन समाचार छापिस् भन्दै लामाका आफन्तले पटक–पटक धम्की दिएका छन् । 
प्रकाशित समाचार प्रकाशन तथा प्रसारणप्रति चित्त नबुझे उजुरी गर्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की तथा पेशामा हतोत्साही गराउनु निन्दनीय छ । महासंघ प्रेस स्वतन्त्रतामाथि हुने सबैखाले अनुचित गतिविधिको भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कारवाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ । 

प्रकाश थापा
कार्यबाहक महासचिव

 डाउनलोड गर्नुहोस्