समाचार संकलनमा रोक लगाइएकाे तथा पत्रिका कब्जामा लिइएकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

मिति : २०७५।०६।१०


कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । असोज ९ गते गृह मन्त्रालयमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई मन्त्रालय प्रवेशमा रोक लगाई समाचार संकलनमा बन्देज लगाइएको थियो ।
पछिल्लो समय नागरिकको ध्यानकेन्द्रित रहेको विषयमा भएको कार्यक्रममा नागरिकलाई सुसूचित गराउने सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रामाथिको हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमाथिको प्रहार भएको महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य कडा भत्र्सना गर्दछ । र, प्रेस र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गर्दछ ।   
यसैगरी सोही दिन संसद्को राज्यव्यवस्था समितिको बैठकको समाचार संकलनका लागि सिंहदरबार पुगेका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेसको संवैधानिक स्वतन्त्रतामा आघात पु¥याउने यो घटनाको महासंघ भत्र्सना गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । 
यस्तै प्रकाशित समाचारको विषयलाई लिएर केही दिनअघि कमलादीस्थित प्रज्ञाभवनमा वितरण गरिएको प्रकास साप्ताहिक पत्रिका प्रहरीले कब्जामा लिनुका साथै वितरणमा रोक लगाएको घटनाको महासंघ घोर निन्दा गर्दछ । समाचारको विषयमा कुनै गुनासो भए त्यसको कानुनी उपचार खोजिनु पर्नेमा वितरित पत्रिका कब्जामा लिइनु र वितरणमा रोक लगाइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्‍याउन  सम्बन्धित निकायसँग माग गर्दछ । 


   रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्