महासंघको पदाधिकारी बैठक निर्णय

मिति ः २०७५।०६।१४
नेपाल पत्रकार महासंघको पदाधिकारी बैठक कार्यवहाक अध्यक्ष दिलिप थापामागरको अध्यक्षतामा सम्पन्न भयो । बैठकले भाद्र १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र मुलुकी देवानी संहिता संशोधनका लागि सञ्चालन गरेको दबाब अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउने निर्णय गरेको छ । संहितामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन दबाब दिन महासंघले असोज १७ देखि २३ गतेसम्म विभिन्न सञ्चार प्रतिष्ठानहरुमा अन्तरक्रिया सञ्चालन गर्ने छ ।

महासंघले राष्ट्रिय समाचार समितिलगायतका सरकारी सञ्चारमाध्यमहरुमा श्रमजीवी पत्रकारहरुलाई निष्कासन गर्ने क्रम बढेकोमा गम्भीर चासो व्यक्त गर्दै राससमा निष्कासित पत्रकारहरुको पुनर्वहालीको माग गर्दै संघर्षको कार्यक्रम अघि बढाने निर्णय गरेको छ।

बैठकले महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राममा नेपाली सञ्चार क्षेत्रको इतिहासलाई संरक्षण गर्न सञ्चार क्षेत्रसँग सम्बन्धित पुराना र ऐतिहासिक सामग्रीको संग्रह गरी सञ्चार संग्रालय स्थापना गर्ने निर्णय समेत गरेको छ ।


रमेश विष्ट 
महासचिव