राष्ट्रिय दैनिक पत्रिका जलाइएको घटनाप्रति महासंघको भर्त्सना

मिति : २०७५।०६।१७
प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा आज वितरणका लागि ल्याइएका कान्तिपुर, दि काठमाडौं पोष्ट, नागरिक, अन्नपूर्णपोष्टलगायतका राष्ट्रिय दैनिक पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सुदूरपश्चिमको राजधानीसम्बन्धी समाचार ती पत्रिकाहरुमा छापिएको भन्दै हातमा पेट्रोल बोकेर आएका ४÷५ जनाको समुहले विहान ६ः०० बजे वितरणका लागि लगिएको पत्रिका गाडीबाट कब्जामा लिई अत्तरियाको निलम पुस्तक पसलअगाडि जलाएका थिए । यसअघि असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका सम्वाददाता चन्द्रकान्त जोशीमाथि एक समुहले आक्रमण गरेको थियो ।

कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो । यस्ता कार्यले नेपालको संविधानको धारा १९ मा व्यवस्था भएको सञ्चारको हकको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुनपाउने अधिकारलाई कुण्ठित पार्ने महासंघको ठहर छ । महासंघ यस्ता प्रेसविरोधी क्रियाकलापको कडा शब्दमा भत्र्सना गर्दछ । महासंघ यो घटनाको छानबिन गरी दोषीलाई तत्काल् कानुनी दायरामा ल्याउन र सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

......................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्