सञ्चार मन्त्री बाँस्कोटाकाे व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।०६।१९

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्को विकास समितिमा पत्रकार र सञ्चारकर्मीविरुद्ध आक्षेप लगाउँदै दिएको अभिव्यक्ति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी सबै मन्त्रालय, तिनका निकायहरु तथा संवैधानिक निकायहरुमा पत्राचार गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
समितिको असोज १८ गते बसेको बैठकमा मन्त्री बाँस्कोटाले आफू र सरकारविरुद्ध जथाभावी लेखेको भन्दै अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आमपत्रकारहरुको अपमान भएको छ । जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोमा महासंघ कडा शब्दमा भत्र्सना गर्दछ ।
मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकता राखेर दिन गरेको पत्राचारप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेको बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ । सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर दिनु भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर छ । महासंघ सिंगो प्रेसजगत्प्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न र सबै सञ्चारमाध्यमप्रति समान व्यवहार देखाउन सरकारसँग जोडदार माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्