वरिष्ठ पत्रकार सीताराम बर्माको निधनले महासंघ स्तब्ध

मिति :२०७७।०७।२१


नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम बर्माको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ७९ वर्षीय बर्माको स्वास्थ्य अवस्था खराव भएपछि तीन सातादेखि ललितपुरस्थित क्रिष्ट अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा कोरोना संक्रमण देखिएका बर्माको पछिल्लो पटक कोरोनामुक्त भए पनि उपचारकै क्रममा आज विहान उहाँको निधन भएको हो ।


स्वर्गीय वर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि पशुपति आर्यघाटमा महासंघका तर्फबाट सचिव रामप्रसाद दाहालले महासंघको झण्डा ओढाएर मृतक बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सो क्रममा धादिङका सञ्चारकर्मी, पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रतिनिधि, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।


तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकािरता पुरस्कार’ बाट सम्मान गरेको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको छ । 


नेपाल पत्रकार महासंघ स्वर्गीय बर्माप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव

 

 डाउनलोड गर्नुहोस्