समाचार संकलनका क्रममा झापाका ४ जना पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको दुर्व्यवहार र कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।०८।१९
 

समाचार संकलनका क्रममा झापाका ४ जना पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको दुर्व्यवहार र कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ झापा शाखाका अनुसार मंसिर १६ गते समाचार संकलनका लागि मालपोत कार्यालय दमक पुगेका अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे र क्यामरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोतका कर्मचारी इन्द्र राजवंशीले एक सेवाग्राहीसँग घुस लिइरहेको भिडियो खिचिरहेको अवस्थामा राजवंशी लगायतका व्यक्तिहरुले आक्रमण गर्नुका साथै क्यामेरा खोसेका थिए ।

 

यसैगरी मंसिर १२ गते न्यूज २४ का झापा जिल्ला संवाददाता राजु पौडेल र पत्रकार नारायण अर्याललाई भन्सार छलीसम्बन्धी समाचार संप्रेषण नगर्नका लागि ५० हजार घुस दिँदा नलिएको भन्दै भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले पत्रकारद्वयलाई  दुर्व्यवहार गरेका थिए ।

नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको कुटपिट र  दुर्व्यवहारको घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ प्रेसको संवैधानिक अधिकारमाथि आघात पुग्ने यस्ता घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न कर्मचारीहरुमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्