नेपाल पत्रकार महासंघकाे ६२ औं स्थापना दिवसको अवसरमा अध्यक्ष डा. महेन्द्र विष्टद्वारा शुभकामना व्यक्त

नेपाल पत्रकार महासंघकाे ६२ औं स्थापना दिवसको अवसरमा अध्यक्ष डा. महेन्द्र विष्टद्वारा शुभकामना व्यक्त

२०७३।१२।१५
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७३ चैत १६ गते आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका महासंघका सदस्य एवं आम नेपाली सञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्ना अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु।

नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मक केही कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिकको भुक्तानी अवस्थामा सुधार भएपनि समस्या हटिसकेको छैन । समग्रमा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने खाँचो छ । संविधानसभाबाट जारी भएको नयाँ संविधान बमोजिम मुलुक अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ भने नेपाल पत्रकार महासंघ पनि २५औं महाधिवेशनको पूर्वतयारीमा छ । राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको यस घडीमा अझ संवेदनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न महासंघको तर्फबाट म नेपाली मिडिया जगत् र पत्रकारहरुमा हार्दिक अपील गर्दछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म सम्पूर्ण नेपाली सञ्चारकर्मीहरूमा पुनः हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दै यस दिनले नेपाली पत्रकारहरूलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरित गरोस् भन्ने कामना पनि गर्दछु ।

साथै, स्थापना दिवसका अवसरमा चैत्र १६ गते महासंघले सञ्चारग्राम काठमाडौमा दिउँसो १ः०० बजे शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनको नेतृत्वलाई हार्दिक आमन्त्रणसमेत गर्दछु ।

डा. महेन्द्र विष्ट
अध्यक्ष