पत्रकार गिरीमाथि आन्दोलनकारी समुहबाट भएको दुर्व्यवहार र आक्रमणको विरोध
पत्रकार गिरीमाथि आन्दोलनकारी समुहबाट भएको दुर्व्यवहार र आक्रमणको विरोध
मितिः २०७७।१०।२२
नेकपा प्रचण्ड–माधव समुहले आज आह्वान गरेको आमहड्तालका क्रममा समाचार संकलन गरिरहेका आर्थिक अभियान दैनिकका कञ्चनपुर सम्वाददाता तथा कञ्चनपुर दैनिकमा कार्यरत पत्रकार मदन गिरीमाथि आन्दोलनकारी समुहबाट भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ कञ्चनपुर शाखाका अनुसार आमहड्तालका कारण समस्यामा परेका व्यक्तिहरूको समस्याबारे समाचार संकलन गरिरहेका बेला पूर्वमन्त्री उर्वादत्त पन्त र ईश्वरी खरेललगायत आन्दोलनकारी समुहबाट पत्रकार गिरीमाथि गालीगलौज गर्दै हातपात गरिएको थियो ।
स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि बन्द र हड्तालका नाममा गरिएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक र खेदजनक कार्य हो । मन्त्रीजस्तो जिम्मेवार पदमा बसि काम गरिसकेका व्यक्तिसहितबाट भएको यस्तो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको महासंघको ठहर छ । घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्