उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८/०१/१२


उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको छ । 
समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ । तसर्थ, प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछ । अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छ । 

  रोशन पुरी  
महासचिव 

 डाउनलोड गर्नुहोस्