देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित , २५२ जना सक्रिय संक्रमित: स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न महासंघकाे अपिल

मितिः २०७८।०१।२३

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन पुगेका छन् ।
महासंघमा अभिलेखभएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये २५२ जना अहिले सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।
अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ ।
यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्थाका लागि सक्रिय सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुलाई अनुरोध गरेको छ । सोका लागि आवश्यक सामग्री जुटाउन पहल गरिने तथा स्थानीयस्तरबाट स्वास्थ्य सामग्री वितरण गर्न गराउने कार्यमा सक्रिय हुन महासंघ आग्रह गर्दछ ।  
यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघ अपिल गर्दछ ।
कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग महासंघ आग्रह गर्दछ । र, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ ।



रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्