नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य र रौतहटकी सञ्चारकर्मीको कारोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०१।३०


नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य गणेश पौडेलको कारोना संक्रमणका कारण ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि लगत्तै पोखरास्थित गण्डकी मेडिकल कजेलमा भर्ना भई उपचारत रहेका पत्रकार पौडेलको उपचारको क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन् ।
पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गर्नुभएका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।
यसैगरी रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको पनि कारोना संक्रमणकै कारण २९ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । कोरोना संक्रमण भई गौर अस्पतालमा उपचारत यादवको २८ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गीय यादवका श्रीमान र चार छोरी छन्
महासंघ स्वर्गीय पत्रकार पौडेल र सञ्चारकर्मी यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।
 

रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्