नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति :२०७८।०२।१५

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज साँझ उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आउनु भएका भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म १८ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्