एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि भएको आक्रमण गर्नेलाई कारबाहीकाे माग

मिति : २०७८।०३।२१

समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।

प्यारागन स्कुलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसावले शुल्क लिन खोजेपछि सोको विरोधमा अभिभावकहरु आन्दोलनमा छन् । सोही विषयमा आज विहान ११ः३० बजे समाचार संकलनका लागि स्कुल पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नुका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पुर्‍याइएको पीडित पत्रकारहरुले महासंघमा जानकारी गराएका छन् ।

नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुर्‍याउने यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपर्ूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न स्कुल प्रशासनको पनि गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी
महासचिव