प्रकाशित समाचारको विषयलाई लिएर  भौतिक आक्रमण गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०५।०७

प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य तथा नागरिक दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख नगेन्द्र उपाध्याय र महासंघ कालिकोट शाखाका सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता विष्णप्रसाद न्यौपानेलाई भौतिक आक्रमण गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भाद्र ७ गते सोमबार नागरिक दैनिकमा प्रकाशित ‘मन्त्रीमाथि बलात्कारको आरोप’ शीर्षकको समाचार र भाद्र ६ गते आइतबार अन्नपूर्ण पोष्ट अनलाइनमा प्रकाशित ‘कर्णाली प्रदेशका कृषिमन्त्री शाहीलाई बलात्कारको आरोप’ शीर्षकको समाचारलाई लिएर पत्रकारद्वय उपाध्याय र न्यौपानेलाई कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीका स्वकीय सचिव प्रेमबहादुर बुढाले टेलिफोनबाट र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलगायतका व्यक्तिहरूले समाजिक सञ्जाल फेसबुकबाट भौतिक कारबाहीको धम्की दिएको पीडित पत्रकारले जानकारी दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारले पत्रकारलाई यसरी भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र यस किसिमका प्रेसविरोधी घटना नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text