पत्रकारमाथि प्रहरीले गरेकाे दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०५।२६

समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेको एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गर्नुका साथै उनीहरुको क्यामेरा खोसेर तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ः०० बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो । समाचार संकलनमा किन रोक लगाएको भनेर प्रहरीसँग सोधखोज गर्दा प्रहरीले उल्टै पत्रकारद्वयमाथि दुव्र्यवहार र हातपात गर्दै उनीहरुको क्यामेरासमेत तोडफोड गरेको छ ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कानुनी कारबाही माग गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

यसैबीच प्रकाशित समाचारको विषयलाई लिएर महोत्तरीस्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी नागेन्द्र साहलाई सर्लाहीस्थित धनकौल गाउँपालिका–४ का कुन्दन मिश्रा (राजन) भन्ने व्यक्तिले भाद्र २४ गते विहीबार फोनबाट ज्यान मार्ने धम्की दिएको घटनाप्रति पनि महासंघ गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानुपर्नेमा सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

No photo description available.