नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य विचारी चाम्लिङको कोरोना संक्रमणका कारण ६३ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०६।१५

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य विचारी चाम्लिङको कोरोना संक्रमणका कारण ६३ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
मिर्गौला रोगबाटसमेत पीडित रहेका चाम्लिङलाई कोरोना संक्रमण भएपछि एक महिनाअघि उपचारका लागि काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना ठीक भैसकेका चाम्लिङलाई एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि १०÷११ दिनदेखि भेण्टिलेटरमा राखी उपचार भैरहेकोमा उपचारकै क्रममा असोज १४ गते बिहीबार साँझ निधन भएको हो । स्वर्गीय चाम्लिङका दुई श्रीमती, दुई छोरी र एक छोरा छन् ।  
तत्कालीन महासंघको मलेसिया शाखाका संस्थापक अध्यक्ष रहनुभएका चाम्लिङ मलेसियामा रहेका बेला प्रवासी सन्देश साप्ताहिकका सम्पादक÷प्रकाशक भई पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । हाल काठमाडौंमा रही सोही पत्रिका र विभिन्न अनलाइनमा क्रियाशील रहेका पत्रकार चाम्लिङको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र उर्जाशील पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पत्रकार चाम्लिङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
कोरोनाकै कारण हालसम्म २६ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघ सबै पत्रकारमा अपिल गर्दछ ।


रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्