नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सहसचिव नानीराम नेपालको ३१ वर्षको अल्पायुमै हृदयघातबाट निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मिति :२०७८।०८।०३

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सहसचिव नानीराम नेपालको ३१ वर्षको अल्पायुमै हृदयघातबाट निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

मंसिर २ गते बिहीबार दिउँसो एक्कासि हृदयघात भएपछि उपचारका लागि तत्काल सिन्धुपाल्चोकको खाडीचौरस्थित न्यु सदाबहार हस्पिटल पु¥याइएका पत्रकार नेपालको त्यहाँ उपचार हुन नसकेपछि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा सोही दिन साँझ ५ः३० बजे निधन भएको हो । स्वर्गीय नेपालका आमा–बुबा, श्रीमती, ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा हुनुहुन्छ ।

विगत एक दशकदेखि सिन्धुपाल्चोकमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार नेपाल पछिल्लो समय न्युज अरनिको डटकम अनलाइनमा सम्पादक र नेपाल समाचारपत्र दैनिकमा संवाददाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । जिल्लामा पत्रकारिता क्षेत्रका लागि एक उर्जाशील युवाको रूपमा परिचित पत्रकार नेपालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, जुझारु, निडर र पत्रकारितामा राम्रो सम्भावना भएका युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्