निर्वाचन आचारसंहिता अनुगमनकाे जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोमा महासंघको विराेध

मिति : २०७९।०६।२८

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए-नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति हाम्रो असमति छ । आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ ।

नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं ।

यस्तै आयोगले चुनाव प्रचार/प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्