समाचारको विषयलाई लिएर धनुषास्थित विदेह नगरपालिकाका प्रमुखले कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०९।१७

समाचारको विषयलाई लिएर अनलाइन खबरडटकममा कार्यरत पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पुस १५ गते शुक्रबार नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार संकलनका लागि मधेस प्रदेशसभा सचिवालय परिसर पुगेका पत्रकार क्रान्तिलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्क्याएको पीडितले महासंघलाई जानकारी गराएका थिए ।

सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्