नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि प्रहरीद्वारा गरिएको कुटपिट र दुब्र्यवहारको घटना अत्यन्त निन्दनीय

 

मिति : २०८०।०४।२१

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते सोमबार प्रहरीद्वारा गरिएको कुटपिट र दुब्र्यवहारको घटना अत्यन्त निन्दनीय र दुःखद् छ ।

संविधानले सुनिश्चित गरेको जिम्मेवारीलाई स्वतन्त्रतापूर्वक निर्वाह गरिरहेको अवस्थामा पत्रकार पोखरेलमाथि प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले गरेको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

नेपाल पत्रकार महासंघको सप्तरी शाखाको पहलमा घटनामा संलग्न रहेका प्रहरी सहायक निरीक्षक महतोमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाइए पनि यस किसिमका घटना नियन्त्रणमा प्रहरी प्रशासन गम्भीर नहुनु दुःखद् पक्ष हो ।

नागरिकलाई सूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाटै पटकपटक यस किसिमका हर्कत भइरहँदा पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ । यस्ता घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाइरहेको महासंघको ठहर छ ।

महासंघ पछिल्ला केही दिनदेखि सप्तरीमा प्रेसमाथि बढेको यस्ता घटना नियन्त्रणमा गम्भीर हुन र यस्ता हर्कत दोहोरिन नदिन कडा कदम चाल्न तथा पत्रकार सुरक्षामा विशेष ध्यान दिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न स्थानीय प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्