नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यसमिति सदस्य एवं हिमालय टेलिभिजनका संवाददाता राकेश यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०५।०५

नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यसमिति सदस्य एवं हिमालय टेलिभिजनका संवाददाता राकेश यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अवैध रूपमा सञ्चालित क्रसर उद्योगका बारे समाचार संकलन गर्ने क्रममा भाद्र ४ गते सोमबार रौतहटको बृन्दावन–३ स्थित शिवम क्रसर उद्योग पुगेका पत्रकार यादवदलाई सोही क्रसरका सञ्चालक दिपक साहको निर्देशनमा राजदेव ठाकुर, राधेश्याम यादव र महेश चौधरीले दुव्र्यवहार र कुटपिट गरेको महासंघ रौतहट शाखाले जनाएको छ ।

महासंघ स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुव्र्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यसैगरी प्रकाशित समाचारको विषयलाई लिएर चितवनमा पत्रकारलाई दिएको धम्की र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ चितवन शाखाका अनुसार साउन ३१ गते चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले ठक्कर दिई भएको दुर्घटनाको सन्दर्भमा भादै ४ गते सोमबार विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

सोही विषयलाई लिएर उक्त कलेजका सञ्चालक तथा प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा गएको टोलीले चितवन पोष्ट दैनिक र नारायणी अनलाइनको कार्यालयमा प्रवेश गरी पत्रकार गोविन्द अर्याल र राजु चौधरीलगायतका पत्रकार एवं सञ्चारकर्मीलाई दुव्र्यवहार गर्दै धम्की दिएको शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प छ । यसलाई लत्याएर गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुनविपरीतको काम हो । महासंघ स्वतन्त्र पत्रकारितामाथिको यो ज्यादतीमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्