नेपाल पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा प्रवेशका अवसरमा अध्यक्ष विपुल पाेख्रेलकाे शुभकामना सन्देश

 

मिति : २०८०।१२।१६
  
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ २०८० चैत १६ गते आफ्नो स्थापनाको ६९औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशैभर तथा विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्वन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । यो संस्था मुलुकका संघ संस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था बनेकोमा हामी गर्व गर्दछौ ।

अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्वन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आएको छ । तथापी नयाँ कानुन निर्माण र बनेका कानुनहरुको सही ढंगले कार्यान्वयनका सन्दर्भमा चाहेचस्तो उपलब्धि देखिएको छैन । यस अवसरमा म पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संंरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन,

श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।
हाम्रो कार्यसमितिको यस कार्यकालमा कतिपय महत्वपूर्ण कार्यमा सफलता प्राप्त भएको छ । पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारको साझा संस्था बनाउनका लागि महासंघको सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाइएको छ भने पत्रकारिताका मुद्दामाथि बहसहरु सञ्चालन गरिएका छन् । साझेदार संस्थासंगको सहकार्यमा पत्रकार तथा यसका आम उपभोक्ताबीचमा छलफल गर्ने र पृष्ठपोषण लिने कार्यहरु नियमित रुपमा भएकाछन् । श्रमको आन्दोलनलाई अगाडी बढाइएको छ । संवाद, दवाव र न्यायिक लडाईमार्फत श्रमजीवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्ने दिशामा महासंघ अनवरत रुपमा अगाडि बढीरहेको छ । प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहितका कानुनहरु निर्माण हुनबाट रोक्न सफल भएका छौ भने  कानुनका मस्यौंदामाथि नै कार्यदल बनाएर पुनरावलोकन गर्नका लागि सरकारलाई बाध्य पारेका छौं ।  

अन्त्यमा स्थापना दिवसको यस सुखद् अवसरमा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु ।
                                                           
                                                     
विपुल पोख्रेल

अध्यक्ष

 डाउनलोड गर्नुहोस्