निर्वाचनको समाचार संकलनमा सहयाेग गर्न महासंघकाे आग्रह

मिति :२०७४।०८।१९


मंसिर २१ गते मुलुकमा ऐतिहासिकरूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुँदै छ । यो निर्वाचनले संक्रमणकालको विधिवत अन्त्य भई संविधानसभाबाट जारी भएको संविधान पूर्ण कार्यान्वयनको बाटो खुल्ने विश्वास महासंघले लिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछ । 
निर्वाचनको बेला मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न सातवटै प्रदेशमा महासंघले अनुगमन टोली पठाई अध्ययन सम्पन्न गरेको छ । निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई निर्वाधढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण तयार गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह गर्दछ । मतदान र मतगणनाको समयमा समाचार संकलन र छायाङ्कन व्यवस्था गर्नसमेत महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई आवश्यक पास सहजढंगबाट उपलब्ध गराउन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ । निर्वाचनको क्रममा केही हिंसात्मक घटनाहरू घटेकाले पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघ सरकारसँग आग्रह गर्दछ ।
साथै, निर्वाचनका बेला सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै ऐतिहासिक निर्वाचनको समाचार संकलन र संप्रेषण गर्न महासंघ आहृवान गर्दछ ।

   रमेश विष्ट
    महासचिव