जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्कीपूर्ण दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८३।०४।२१


जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्कीपूर्ण दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

समाचारका लागि प्रतिक्रिया लिने क्रममा यादवले ‘तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ थाहा छ ? म अबदेखि तपाईंको फोन उठाउदिन, थप समाचार लेख्नु भयो भने तपाईंलाई गाह्रो पर्छ, व्याक फायर गर्छु’ भनेर धम्क्याएको युरोप शाखाले जनाएको छ ।

समाचारसंग जोडिएको पक्षको प्रतिक्रिया लिनु पत्रकारिताको धर्म हो । पेशागत धर्म निर्वाह गर्दा पत्रकारलाई अमर्यादित र अशोभनीय व्यवहार देखाउनु कूटनीतिक मर्यादाविपरीत हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको महासंघको ठहर छ । यो शैलीको महासंघको भर्त्सना गर्दछ ।

महासंघ घटनाको छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव