नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा अध्यक्ष निर्मला शर्माको शुभकामना मन्तव्य

 

मिति : २०८२।१२।१५

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०८२ चैत १६ गते आफ्‌नो स्थापनाको ७१ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशैभरि र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

साथै, स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा तथा कर्म निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति आभार प्रकट गर्दछौं ।

सात दशक लामो इतिहास बोकेको मुलुककै पुरानो अगुवा नागरिक संस्थाको रुपमा समाजमा स्थापित महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा आफूलाई समर्पित गर्दै आएको छ । व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेर आफ्ना कार्यहरू गर्दै आएको छ । महासंघले मानव अधिकारको रक्षा, सही सूचना पाउने नागरिकको अधिकारको संरक्षणलगायतका सार्वजनिक सरोकारका विषयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

पछिल्लो समयमा सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ । जसका कारण पाठकमा सञ्चारमाध्यमका सामग्री र सामाजिक सञ्जालमार्फत व्यक्तिले व्यक्त गरेका विचारहरू छुट्याउन समस्या परिरहेको अवस्था छ । यस्तो चुनौतीका बीच जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी हाम्रा सामु छ । लोकतन्त्रसँग पत्रकार र पत्रकारिता अभिन्न रुपले जोडिएको हुन्छ । तसर्थ हामीले कतिपय अवस्थामा व्यावसायिक जिम्मेवारीभन्दा बाहिर सार्वजनिक सरोकारका विषयमा पनि अभिमत जाहेर गर्नुपर्ने अवस्था हुन्छ ।

भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिव दुई तिहाइको सरकार बनेको छ । यसले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ । साथै, लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहित सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गर्दछ । त्यस्तै जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूति दिलाइ मनोबल बढाउन जरुरी छ ।

पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको लागि आमसञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायसँगको सम्बन्ध थप बलियो बनाउन हामी लागी परेका छौं ।

संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग वा तहबाट जुनसुकै नाममा पनि संकुचन गर्ने वा नियन्त्रण गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो । लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि पछिल्लो समय प्रेस स्वतन्त्रता हनन्‌का घटनाहरू बढ्दो क्रममा रहेकोमा महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको भौतिक सुरक्षाका लागि सधैं प्रतिबद्ध छ । महासंघले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहलकदमी अगाडि बढाइरहको छ ।

अन्त्यमा, नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दै जिम्मेवार पत्रकारिता गर्नु हाम्रो दायित्व हो । जनताको सही सूचना पाउने अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दछु ।

निर्मला शर्मा

अध्यक्ष