प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्‍याइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मितिः २०८३।०१।२१


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्‍याइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही वैशाख २१ गते दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनार्थ भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र साहले भौतिक उपस्थितिमै भिडियो खिच्न रोक लगाएको समाचारबाट महासंघ गम्भीर भएको छ ।

प्रधानमन्त्री सचिवालयको सूचना पाएर बाहिरबाट भिडियो खिचिरहेका पत्रकारलाई प्रधानमन्त्रीको ठाडो आदेशमा सुरक्षाकर्मीले भिडियो नखिच्न र सो स्थानबाट हट्न उर्दी लगाएको समाचार संकलनमा खटिएका सञ्चारकर्मीले जनाएका छन् ।

प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने सरकार प्रमुखको आदेशमा पेसागत धर्म निर्वाह गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई गरिएको अशोभनीय व्यवहारप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।

महासंघ पत्रकारको संवैधानिक अधिकारमा आघात पुर्‍याउने कार्यप्रति खेद प्रकट गर्दछ । साथै, पत्रकार तथा सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न अपील गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

 डाउनलोड गर्नुहोस्