मिति : २०८३।०३।२०
नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचारको क्रममा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ५६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ ।
क्यान्सरबाट पीडित भई उपचाररत अग्रज पत्रकार पराजुलीको असार २० गते शनिबार बिहान निधन भएको शाखाले जनाएको छ । स्वर्गीय पराजुलीका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।
सचिव, कोषाध्यक्ष हुँदै २०६१ सालमा महासंघ नवलपरासी शाखाका अध्यक्ष बनेका पराजुली २०८१ सालमा दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुुभएको थियो ।
झण्डै चार दशकअघि मातृभूमि साप्ताहिकबाट नवलपरासीमा सक्रिय पत्रकारिता सुरु गर्नुभएका पराजुलीले रेडियो परासी र परासीपत्र साप्ताहिकमा महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले रेडियो नेपाल, रेडियो लुम्बिनी, जनसंघर्ष, तिनाउ एफएमलगातका मिडियामा पनि काम गर्नुभएको थियो । नवलपरासीमा दर्ता भई २०४५ सालदेखि बुटवलबाट प्रकाशित दैनिक लुम्बिनीमा आवद्ध रहेर काम गर्नुभयो । पछिल्लो समय पनि सोही पत्रिकामा कार्यरत हुनुहुथ्यो ।
उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, निर्भीक र कुशल पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय र इमान्दार सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव