राष्ट्रपति कार्यालयले निजी सञ्चार माध्यमहरुलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण

राष्ट्रपति कार्यालयले निजी सञ्चार माध्यमहरुलाई प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रमको समाचार संकलन र सम्प्रेषणमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

पत्रकारलाई समाचार संकलन र सम्प्रेषणमा रोक लगाउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो र यो अवरोध लोकतान्त्रिक मूल्य मान्यताको विपरित छ । यस्ता घटनाले निर्वाध रुपमा समाचार संकलन गर्न पाउने पत्रकारको कानूनी अधिकार हनन भएको महासंघको ठहर छ । पत्रकारमाथिको अवरोधले जनताको सूचनाको हक समेत कुन्ठित भएको छ । पत्रकारले निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन भएको घटनाको महासंघ भत्र्सना गर्दछ ।

राष्ट्रपति कार्यालयबाट बारम्बार सञ्चारकर्मीहरुमाथि विभेदपूर्ण व्यवहार हुँदै आएकोमा महासंघ दुःख व्यक्त गर्दछ । महासंघ घटनाको छानबिन गरी भविष्यमा यस्ता किसिमका घटना दोहरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

रमेश विष्ट
महासचिव