मिति : २०८३।०४।०७
क्षेत्राधिकार नै नभएको विषयमा प्रवेश गरी जिल्ला प्रहरी कार्यालय पर्साले प्रसारित समाचारको तथ्य पेश गर्न वीरगञ्जबाट सञ्चालित My TV लाई पत्र लेखेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको समाचारलाई लिएर वीरगञ्ज महानगरपालिका–३१ का वडा अध्यक्षले दिएको उजुरीका आधारमा प्रहरी कार्यालयले पत्र लेखेको महासंघको पर्सा शाखाले जनाएको छ ।
समाचारसंग सम्बन्धित विषयमा उजुरी सुन्ने अधिकार क्षेत्र प्रेस काउन्सिल नेपालसँगमात्र रहेकोमा त्यसको ख्यालै नगरी प्रहरीले गरेको कार्य अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघ ठान्दछ ।
महासंघ समाचारको विषयमा अनधिकृत रूपमा लेखिएको पत्र फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
……………….
रामप्रसाद दाहाल
महासचिव