मिति : २०८३।०४।११
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको ८१ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
केही समयदेखि मुटु र फोक्सोको रोगले पीडित भई ललितपुरस्थित बीएण्डबी अस्पतलामा उपचाररत ज्ञवालीको २०८३ साउन १० गते आइतबार बेलुका ८ः४० बजे निधन भएको महासंघको रुपन्देही शाखाले जनाएको छ ।
२०२४ सालदेखि पत्रकारिता सुरु गर्नुभएका ज्ञवालीले राष्ट्रिय समाचार समिति, लुम्बिनी सन्देश साप्ताहिकलगायतका पत्रपत्रिकामा महत्वपूर्ण योगदान दिनुभएको थियो भने बुटवलका विभिन्न दैनिक पत्रिकामा नियमित लेख रचनाहरू लेख्दै आउनु भएको थियो ।
ज्ञवालीले महासंघको जिल्ला शाखा तथा महासंघका विभिन्न समितिमा रहेर उल्लेख्य योगदान दिनुभएको थियो । उहाँलाई २०५८ सालमा महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।
महासंघ रुपन्देही शाखाले उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मानबाट उहाँ सम्मानित हुनु भएको थियो । स्वर्गीय ज्ञवालीका एक श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।
उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ रुपन्देही शाखाले अभिभावक गुमाएको छ ।
महासंघ स्वर्गीय अग्रज पत्रकार ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव