दुई समुहबीच भएको झडपको समाचार संकलनका क्रममा पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८३।०४।१२

दुई समुहबीच भएको झडपको समाचार संकलनका क्रममा पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट (कप्तानगञ्ज) मा कोशी प्रदेश कार्यसमिति सदस्यसमेत रहेका अन्सारीको मोटरसाइकल तोडफोड भएको महासंघको कोशी प्रदेश समितिले जनाएको छ ।

यसरी सञ्चारकर्ममा अवरोध पुर्‍याउने र त्रास सिर्जना गर्ने घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघको ठम्याइ छ । तसर्थ संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

पत्रकार आचारसंहिताप्रति जिम्मेवार रही सुरक्षा सतर्कताका साथ सञ्चारकर्ममा जुट्न पत्रकारहरूलाई हार्दिक अपिल गरिन्छ ।

साथै, महासंघ सुनसरीको देवानगञ्ज घटनाको संवेदनशीलतालाई गम्भीर रुपमा लिन, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न तथा आम नागरिकको जीउधनको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव