मिति : २०८३।०५।१०
सामाजिक सञ्जालमा उठाएको विचारमा विमति राख्दै पत्रकार नवीन श्रेष्ठविरुद्ध सिन्धुली क्षेत्र नं. १ का सांसद धनेन्द्रबहादुर कार्कीले नेपाल प्रहरीमा मानहानीको मुद्दा दर्ता गराएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।
कार्कीले १६ जनालाई सचिवालय सदस्य नियुक्त गरेको विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक आलोचना र प्रश्न उठाएपछि पत्रकार श्रेष्ठलाई भाद्र ९ गते प्रहरी कार्यालय सिन्धुलीमा २ घण्टा सोधपुछ गरिएको र बुधबार पुनः उपस्थिति हुन उर्दी जारी भएको महासंघको सिन्धुली शाखाले जनाएको छ ।
सार्वजनिक व्यक्तिको विषयमा सरोकार र विचार राख्ने स्वतन्त्रता संविधानले प्रत्याभूत गरेको छ । यही प्रक्रिया अपनाउदा पत्रकारमाथि भएको यो कदम अत्यन्तै निन्दनीय र आपत्तिजनक छ । महासंघ यसको भर्त्सना गर्दछ ।
चित्त नबुझेको विषय भए त्यसउपर संवाद वा प्रचलित विधिमार्फत समाधान नखोजी पत्रकारलाई फौजदारी मुद्दा चलाएबाट संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कानुनी राजको उपहास भएको महासंघको बुझाइ छ ।
महासंघ घटनाको यथार्थता छानबिन गरी लेखेकै आधारमा पत्रकारमाथि लगाउन खोजिएको फौजदारी मुद्दा तत्काल फिर्ता गर्न र गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव