लकडाउनको समयमा नेपाल पत्रकार महासंघले सञ्चारकर्मी र सञ्चारगृहमा गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन

विश्वभर महामारीका रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा देखापरेपछि २०७६ चैत्र ८ गते सम्पन्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध बैठकले सञ्चारमाध्यम र पत्रकारको दायित्वबारे अपिल जारी गर्दै पत्रकारिता क्षेत्रमा देखा पर्नसक्ने समस्याहरुको पहिचान गरी  समाधानका लागि सहजीकरण एवम् समग्र अवस्थाको अनुगमन र संयोजन गर्न अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय समिति गठन गरेको थियो । अहिले उक्त समितिको समन्वयमा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान तहवाट सञ्चारकर्मी र सञ्चारमाध्यमको अवस्थाबारे अनुगमन गरिनुका साथै समस्या समाधानका लागि पहलहरु भइरहेको छ ।

यसबीचमा महासंघ केन्द्रीय समितिअन्तर्गत महासचिव रमेश विष्ट नेतृत्वको टिमले उपत्यकाका करिब डेढ दर्जन सञ्चारमाध्यमहरुको स्थलगत अनुगमन सम्पन्न गरेको छ । महासचिव रमेश विष्टको नेतृत्वमा गरिएको अनुगमन टोलीमा सचिव रामप्रसाद दाहाल, प्रकाश थापा, शीतलप्रसाद महत्तो, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य जन्मदेव जैसी, गोविन्दप्रसाद चौलागाईलगायत सहभागी हुनुहुन्थ्यो । महासंघको अनुगमन टोलीले सञ्चारमाध्यममा कार्यरत पत्रकार एवं व्यवस्थापन पक्ष र अन्य सरोकारवाला पक्षसँगसमेत छलफल गरेको छ । अनुगमनका क्रममा महासंघले सञ्चारकर्मी तथा सञ्चारगृहका लागि केही स्वास्थ्य सामग्रीसमेत वितरण गरेको थियो ।

१.मिडिया अनुगमनका क्रममा देखिएको अवस्था :

क. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को संक्रमण नेपालमा पनि देखापरेपछि गरिएको लकडाउनको समयमा नेपाली सञ्चार क्षेत्रले संक्रमणको उच्च जोखिम मोल्दै जनतालाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेको छ । सीमित स्रोत साधन र अनेक कठिनाईका बीच कार्यस्थलमा खटिएर आफ्नो कर्तव्य पालना गर्दै नेपाली सञ्चारकर्मीहरुले ऐतिहासिक जिम्मेवारी पूरा गरिरहेका छन् । यो असाधारण परिस्थितिमा सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिका र दायित्व अत्यन्तै जिम्मेवारपूर्ण ढंगबाट पूरा भइरहेको छ ।

ख. कोरना भाइरसको उच्च जोखिम बढिरहेको समयमा सञ्चारकर्मीहरुको लागि सञ्चार गृहहरुले गरिएको पूर्वसर्तकता सन्तोषजनक पाइएन । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको देखिन्छ । कार्यालयमा पनि आवश्यक दुरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा माक्स, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध गरिएको पाइएन ।

ग. अधिकांश सञ्चार गृहहरुले पत्रकारहरुलाई घरबाटै काम गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । केही सञ्चारगृहमा कार्यालयमै बसोबासको व्यवस्था गरेर पनि काम गर्ने व्यवस्था मिलाइएको पाइयो । तर, घरबाट अफिस जाने पत्रकारहरुमध्ये केहीले सवारी साधनको समस्या

 

रहेको जानकारी गराए भने आफ्नै साधन प्रयोग गर्नेहरुका लागि पनि सवारी पासलगायतका समस्या परेको जानकारी गराएका छन् ।

घ. लकडाउनको समयमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुले सञ्चार गृहबाट सहजै पारिश्रमिक पाएको अवस्था देखिएन । बिगतका महिनाको बाँकी पारिश्रमिकसमेत प्राप्त गर्न नसक्दा श्रमजीवी पत्रकारहरुले आर्थिक अभाव झेलेर काममा खटिएको दुखद अवस्था अनुगमनका क्रममा देखियो । श्रमजीवी पत्रकार ऐनले तोकेको अवधिभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामको पारिश्रमिक उपलब्ध गराएको पाइएन ।

ङ. लकडाउनको समयमा पनि देशका विभिन्न स्थानमा विभिन्न व्यक्ति र निकायवाट पत्रकारमाथि कुटपिट, धम्की, दुव्र्यवहार र काममा अवरोधका घटनाहरु घटे । राज्य पक्ष, राजनीतिक दल र अन्य पक्षबाट प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाहरु भएको पाइयो । लकडाउनको यस अवधिमा ६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख गरिएको छ ।

लकडाउनको क्रममा २०७६ चैत १० गते देखि चैत २८ गतेसम्म भएका प्रेस स्वतन्त्रता हननका घटनाहरु यसप्रकार रहेका छन्-

क्र.सं

घटना प्रकृति

संख्या

पीडित संख्या

धम्की

दुव्र्यवहार

समाचार संकलनमा अवरोध

 

जम्मा

११

स्रोत : नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाई

च. लकडाउनको समयमा कतिपय सञ्चारगृहले पत्रकार तथा प्राविधिकलाई जागिरबाट हटाइएको पाइयो । कतिपयले वेतलबी विदा दिएका छन भने कतिपयले आंशिक समय मात्रै काममा लगाएको पाइयो । यसवाट पत्रकारहरु बेरोजगार हुने क्रम बढ्दै गएको अनुगमनका क्रममा देखियो ।

छ. भाडामा बसोबास गरिरहेका सञ्चारकर्मीहरुलाई कार्यालय र घरमा आउनेजाने गर्नुपर्दा घरधनी र छिमेकबाट समेत आपत्ति प्रकट गरेको पाइयो । घरधनीले डेरा छाड्न दबाब दिने गरेको पाइयो । कतिपय ठाउँमा आपूm बसेको टोलमै प्रवेश गर्नसमेत नदिएको पत्रकारहरुले महासंघलाई जानकारी गराए ।

ज. लकडाउन सुरु भएपछि संघीय राजधानी काठमाडौंसहित प्रदेश राजधानी र जिल्लाबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका बन्द भएका छन् । केही राष्ट्रिय दैनिक, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेका छन् । लकडाउनले सबैभन्दा बढी छापामाध्यम प्रभावित भएका छन् ।

२. समस्या समाधानका लागि महासंघबाट भएका पहल तथा सुझावहरु

क. विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने कुरामा दुई मत छैन । सञ्चारमाध्यमले प्रवाह गर्ने सत्यतथ्य समाचार र सचेतनामूलक सामग्रीले यो महामारी विरुद्घ लड्न महत्वपूर्ण सहयोग पुग्नेछ । त्यसका लागि

 

सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि विशेष राहत र सहुलियतको मागलाई महासंघले अघि सारेको छ । महासंघको अनुगमनका क्रममा पत्रकार तथा सञ्चारगृहले राहतको अपेक्षा गरेको जानकारी गराएका छन् । तर, लकडाउनको दुई साता अवधि पूरा हुँदा पनि सरकारको तर्फबाट सञ्चार क्षेत्रका समस्या सम्बोधन, राहत तथा सञ्चार क्षेत्रसँग सहकार्यको कुनै पनि कार्यक्रम घोषणा नहुनु दुखद हो । महासंघ यस क्षेत्रका समस्या समाधानमा गम्भीर बन्न र तत्काल सञ्चार क्षेत्रका लागि राहत तथा सहकार्यको पहल गर्न सरकारसँग आग्रह गर्दछ ।

ख. कोरोना सक्रमणका विरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मीहरु पछि सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यो अवस्थामा फिल्डमा खटिने सञ्चारकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, नियमित स्वास्थ्य परिक्षण, विमा र सहज सूचना प्राप्तिको व्यवस्थाका लागि सरकार र सम्वन्धित सञ्चार प्रतिष्ठानहरुमा महासंघ आग्रह गर्दछ ।

ग. यतिवेला सरकार र सञ्चार माध्यमबीच सहकार्य गरी आम जनताका लागि आवश्यक सूचना, शिक्षा, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्रीहरुको उत्पादन र प्रसारण गर्नेतर्फ योजना निर्माण गर्न पनि अत्यावश्यक देखिएको छ । यसतर्फ पनि महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ ।

घ. नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाका पदाधिकारी तथा सदस्यहरुको संलग्नतामा मिडिया अनुगमन जारी छ । संकटको यस घडीमा महासंघको अभियानलाई साथ दिने सम्पूर्ण सञ्चारकर्मी मित्र, मिडिया सञ्चालक एवम् सरोकारवाला सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको साथ, सहयोग र समर्थनका लागि आग्रह गर्दछौ ।

धन्यवाद ।

 

रमेश विष्ट

महासचिव

मितिः २०७६ चैत्र २८ गते 

 डाउनलोड गर्नुहोस्