महासंघद्वारा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण

महासंघद्वारा  प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण



२०७४ मंसिर ०७

नेपाल पत्रकार महासंघले पक्राउ परेका आठ जना पत्रकारलाई तत्काल रिहा गर्न माग सरकारसँग माग गरेको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंसिर ६ गते भेट गरी पक्राउ परेका पत्रकारलाई रिहा गर्न माग गरेको हो । 
महासंघका अध्यक्ष आचार्यले पक्राउ परेका पत्रकार महासंघका सदस्य भएकाले उनीहरुको जिम्मा महासंघले लिने बताउनुभयो । उहाँले पत्रकारलाई रिहा गर्नका लागि निर्देशन दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले पक्राउ परेका पत्रकारको अवस्था बुझेर उनीहरुलाई रिहा पत्रकार निर्देशन दिने बचन दिनुभयो ।   
महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जसमा पक्राउ परेका पत्रकारको रिहाई, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागूका साथै न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र नदिने सञ्चार गृहलाई कार्वाही गर्नु पर्ने लगायत छन् । प्रधानमन्त्री देउवाले महासंघले अघि सारेका मागबारे सरकार सकारात्मक भएको बताउनुभयो । 
सो अवसरमा महासंघका महासचिव रमेश बिष्टले पत्रकार सम्मेलन, हस्पिटल, रिपोर्टिङ स्थलबाट पत्रकारहरु पक्राउ पर्नु अत्यन्त दुःखद् भन्दै उनीहरुलाई तत्काल रिहा गर्न र यस्ता कार्य बन्द गर्न आग्रह गर्नु भएको थियो ।  प्रतिनिधि मण्डलमा महासंघका उपाध्यक्षद्वय विपुल पोख्रेल र दिलिप थापामगर, सचिवद्वय रामप्रसाद दाहाल र रेमबहादुर विश्वकर्मा, सदस्यहरु जन्मदेव जैसी, हरिहरसिंह राठौर, यम बिरही, लेखनाथ न्यौपाने, टिकाराम प्रधान, टेकराज थामी, छेटु शेर्पा, लक्ष्मण कार्की, सुरेश यादव,  राधेश्याम दाहाल, लेखा समिति सदस्य भुपेन्द्र आचार्य लगायतको उपस्थिति थियो ।