विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी



२०७५ बैशाख २०

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलबाट नयाँ बानेश्वरसम्म  प्रभातफेरी आयोजना गरेको छ । 
प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भएतापनि त्यसलाइ व्यवहारमा प्रत्याभुत गर्न नसकिएको बताउनु भयो । उहाँले भदौ महिना देखि लागु हुने फौजदारी आचारसंहितामा समाचार लेखेकै आधारमा पत्रकारलाई सजाय गर्नसक्ने धेरै प्रावधान रहेको भन्दै त्यो प्रेस स्वतन्त्रताप्रति बाधक हुने धारणा राख्नु भयो ।  
महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले विगतमा तुलनामा प्रेस स्वतन्त्रताको अवस्थामा निकै सुधार आएको भएतापनि प्रवृत्तिगत आधारमा भने चुनौती कायमै रहेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्राको अवस्था सुधार्न केही नीतिगत, कानुनी, संरचनागत र व्यावहारिक क्षेत्रमा काम गर्नुपर्ने खाँचो छ धारणा राख्नु भयो ।
त्यसैगरि महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्वमा पत्रकारमाथि भैरहेको हत्या तथा आक्रमणको विरोध गर्दै त्यस्ता कुकृत्यको अन्त्य हुनुपर्ने धारणा राख्नु भयो । उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रीक सरकारको दायित्व रहेको भन्दै पत्रकारिताका लागि उचित वातावरण निमार्ण गर्न सरकारलाइ आग्रह गर्नुभयो । 
शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासनलाइ जोड दिदै युनेस्कोले यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा दिएको छ । कोणसभाका क्रममा महासंघका अध्यक्ष एवं पदाधिकारी तथा पूर्व अध्यक्षहरुले महासंघद्घारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भयो ।