६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू

६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू



२०७५ जेठ ०८

चालु आर्थिक वर्ष २०७४÷०७५ को पत्रकार दुर्घटना बीमा अन्तर्गत पहिलो चरणमा ६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू भएको छ । 
सूचना विभागमा आज आयोजित कार्यक्रममा  विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो । 
नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच २०७४ चैत २ गते भएको  सम्झौता बमोजिम ३१० रूपैयाँ ७५ पैसाका दरले ६१३ जना पत्रकारको १,९०,४८९ रूपैयाँ ७५ पैसा रहेको छ ।
नेपाल पत्रकार महासंघले पत्रकार दुघर्टना बीमाका लागि तीन वर्षदेखि पत्रकारहरुको विवरण संकलन गर्दै आएको छ । 
पत्रकार दुर्घटना निर्देशिका २०७० अनुसार २५ प्रतिशत शूल्क पत्रकार स्वयम काम गर्ने सञ्चार गृहले व्यहोर्ने व्यस्था रहेको छ  । बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बीमा कोषबाट व्यवस्था हुने व्यहोरा रहेको छ  । 
उक्त सम्झौता अनुसार श्रमजीवी पत्रकारका लागि ७७ रुपैयाँ ०६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ । बाँकी ७५ प्रतिशतले आउने २३३ रुपैयाँ ०६ पैसा सरकारका तर्फबाट व्यहोरिएको छ ।
यो सुविधाबाट कार्यक्षेत्रमा क्रियाशील रहँदा बीमित पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपियाँसम्म पाउने छन् । त्यस्तै दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिल अनुसार दुई लाख रुपियाँसम्म बीमा कम्पनीले व्यहोर्ने छ । उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयम्ले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मा उल्लेख छ ।
यो आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बीमाका लागि पत्रकारको बिवरण आजैबाट संकलन गरि  जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रकृयामा अघि बढाइने छ । दुर्घटना बीमाको सुविधामा सहभागि हुन सूचना विभागको पत्रकार परिचय पत्र लिइ नविकरण गरेको तथा नेपाल पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ । महासंघले बीमा कार्यक्रममा सहभागिहुन सबै पत्रकारलाइ आवह्न गरेको छ ।