साधारण सभाबारे चितवन शाखाको विज्ञप्ती


चितवन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा यही वैशाख २१ गते चितवनको पर्यटकीय नगरी रत्ननगरमा सम्पन्न भएको छ । उक्त साधारणसभाले महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुका साथै महासंघको विधान समयसापेक्ष बनाउनको लागि उच्चस्तरीय समिति गठन गरेको छ । नेपाली पत्रकारहरुको एकता र नेतृत्वको सुझबुझको कारण उक्त अवस्था सिर्जना भएको हो । यस हिसावले पत्रकार महासंघको साधारणसभा इतिहासमै सफल मानिएको छ । 
उक्त साधारणसभाको उद्घाटन गर्न सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी चितवन आउनु, कार्यक्रममा विभागीय मन्त्री, व्यवस्थापिका–संसदका सभासद्लगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुनुले चितवन जिल्लाको महत्व र गरिमालाई अझै माथि उठाएको छ । साधारणसभाको सफलताले चितवन जिल्लामा जस्तोसुकै कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनसक्छ भन्ने प्रमाणित भएको छ । 
यसपटकको साधारणसभा चितवन जिल्लामा आयोजना गर्न हामीलाई अवसर र उत्प्रेरणा प्रदान गर्ने केन्द्रीय कार्यसमिति, साधारणसभा सफल पार्न अहोरात्र खटिने चितवनका पत्रकारहरु, महासंघले गठन गरेको विषयगत उपसमितिहरु, विभिन्न संघ–संगठन, होटल व्यवसायी र कर्मचारीहरु सबैजना धन्यवादका पात्र छन् । साधारणसभाका लागि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने चितवनका राजनीतिक दल, उद्यमी–व्यवसायी, स्थानीय निकाय, विभिन्न संघ–संगठन र सुरक्षा निकायलाई हामी धन्यवाद दिन चाहान्छौं । 
नेपाल पत्रकार महासंघ चितवन शाखाले मात्र यति ठूलो साधारणसभा आयोजना गर्न सक्ने थिएन । यसका लागि चितवनका उद्यमी–व्यवसायी, स्थानीय निकाय, विभिन्न संघ–संगठन र व्यक्तिहरुले समेत आर्थिक, नैतिक र भौतिक सहयोग गरेका छन् । हामीले तपाईहरु सबैको सहयोगको उच्च मूल्याङ्कन गरेका छौं । साधारणसभा सम्पन्न भैसके पनि कतिपय संघ–संस्था र व्यक्तिले प्रदान गर्ने भनेको सहयोगको राशी सङ्कलन हुने र महासंघबाट खर्चको भुक्तानी प्रक्रिया चलिरहेको छ । यसैले साधारणसभाको आयव्यय विवरण तयार गर्न अझै केहीदिन लाग्ने अवस्था छ । हामीले साधारणसभामा भएको आम्दानी र खर्च पारदर्शी होस् भन्नका लागि छुट्टै बैंक खाता तयार गरेका छौं । प्रभु बैंक, भरतपुरमा रहेको खाता नं. ०५४११६००७६६७५२०००००१ बाट साधारण सभाको आम्दानी खर्चको कारोबार भईरहेको छ । कारोबार सकिनासाथ आम्दानी खर्चको रजिष्टडं लेखा परीक्षकबाट लेखा परीक्षण गराएर सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । 
अन्त्यमा यस साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछौं ।

हरिप्रसाद पोखरेल 
संयोजक
स्थानीय मूल व्यवस्थापन समिति, चितवन
नेपाल पत्रकार महासंघ, केन्द्रीय साधारण सभा