राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण

२०७४।०४।११
विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । केही दिनअघि प्रधान न्यायाधीशको शपथ कार्यक्रममा सरकारी मिडियालाई प्रवेश दिइए पनि स्वतन्त्र मिडियालाई प्रवेशमा रोक लगाइएको थियो भने आज मन्त्रिपरिषद्का सदस्यको शपथमा पनि निजी क्षेत्रका मिडियालाई प्रवेश नदिने जानकारी गराइएको छ । अन्य कतिपय कार्यक्रममा पनि यस्तै किसिमको विभेदपूर्ण व्यवहार भइरहेकोमा महासंघले आपत्ति जनाउने गरेको र त्यसलाई सच्याउने बचन दिने गरिएकोमा पुनः त्यस्तै खालको व्यवहार हुनु दुःखद् अवस्था हो ।

स्थान अभाव वा व्यवस्थापन समस्या वा अन्य कुनै पनि बहाना देखाउने तर त्यसको विकल्प पनि नखोजी मिडियालाई नै निषेध गर्ने कार्य कुनै पनि अर्थमा तर्कसंगत हुन सक्तैन । राज्यका जिम्मेवार निकायले सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा मिडियालाई पहुँच नदिने र स्वतन्त्र मिडियाप्रति विभेद गरिने कुरा प्रेस स्वतन्त्रतामाथिको संकुचन हो । यसले लोकतन्त्रले स्वतः अपेक्षा गर्ने खुला समाजको अवधारणामा समेत ठेस पु¥याउँछ । महासंघ सम्माननीय राष्ट्रपतिको कार्यालयबाटै भएका यस्ता कार्यप्रति तीब्र असन्तुष्टि जनाउँछ । आजैदेखि यसलाई सच्याउन र मन्त्रिपरिषद्का सदस्यहरूको सपथ कार्यक्रममा समेत सहज पहुँच दिने व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयलाई आग्रह गर्दै महासंघ सम्माननीय राष्ट्रपतिज्यूबाट समेत यसमा विशेष चासो प्रकट हुने विश्वास व्यक्त गर्दछ ।


उजिर मगर
महासचिव