सम्पादक र कार्यकारी सम्पादकलाई पक्राउ गरिनु शक्तिको दुरुपयोग भएको महासंघको ठहर

मितिः २०७४/३/४ 


न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष तथा कन्चनपुरको महेन्द्रनगरबाट प्रकाशित दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई प्रहरीले हिजो पक्राउ गरेकोमा हालसम्म पनि रिहा नगरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
उहाँहरुलाई प्रहरीले असार ३ गते पक्राउ गरी सार्वजनिक अपराधसम्बन्धी झूठा मुद्दा लगाई अझै पनि थुनामा राखिएको छ । केही दिन अघि स्थानीय दुइ युवतीलाई प्रहरीले पक्राउ गरेको विषयमा सो पत्रिकाले ती युवती निर्दोष भएको तर प्रहरीले ज्यादतिपूर्वक पक्राउ गरेर थुनामा राखेको आशयको समाचार प्रकाशित गरेको थियो ।
प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरेको भनी समाचार प्रकाशन भएको विषयलाई लिएर प्रहरीले पूर्वाग्रही भएर सम्पादक र कार्यकारी सम्पादकलाई पक्राउ गरिनु शक्तिको दुरुपयोग भएको महासंघको ठहर छ । यस घटनालाई लिएर हिजै महासंघको तर्फबाट विज्ञप्तिमार्फत तथा गृहमन्त्री एवं जिल्लाका प्रशासन र प्रहरी प्रमुखसँग महासंघ केन्द्रबाट टेलिफोन मार्फत र स्थानीय तहमा प्रत्यक्ष भेट गरी पक्राउप्रति विरोध जनाउँदै तत्काल रिहाइको माग गरिएको छ । महासंघका केन्द्रीय सदस्य एवं क्षेत्रीय संयोजक प्रकाश विक्रम शाहको नेतृत्वमा महासंघको केन्द्रीय टोली समेत हिजै कञ्चनपुर पुगिसकेको छ । पत्रकार पक्राउको विरोधस्वरुप महासंघ कञ्चनपुर शाखाको आह्वानमा आज त्यहाँको जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्नासमेत दिएका छन् । यद्यपि हालसम्म पनि पत्रकारद्वय भण्डारी र भट्टलाई रिहा नगरिएकोमा महासंघ गम्भीर भएको छ । यसले सरकारको प्रेसप्रतिको दृष्टिकोणमै गम्भीर प्रश्न उठाएको छ ।
महासंघ पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहाइ गर्न, स्वतन्त्र पत्रकारिताको वातावरण निर्माण गर्न र घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग गर्दछ । अन्यथा विरोधका थप सशक्त कार्यक्रम सञ्चालन गर्न बाध्य हुने स्पष्ट गर्दछ ।

उजिर मगर
महासचिव